बाँके प्रहरी र क्यासिनो बिच रहस्यमय गहिरो सम्बन्ध : लुटिएको रु. ७० लाख राज्यको ढुकुटीमा कसले जम्मा गर्ने ? (आडियो र भिडियो सहित)

बाँके प्रहरी र क्यासिनो बिच रहस्यमय गहिरो सम्बन्ध : लुटिएको रु. ७० लाख राज्यको ढुकुटीमा कसले जम्मा गर्ने ? (आडियो र भिडियो सहित)

काठमाडौं, २४ साउन । साउन ०९ गते नेपालगन्ज जमुनाहामा हातहतियारसहित भएको रु. ७० लाखको लुटपाटमा क्यासिनो जिएमलाई बाँके प्रहरीले अनुसन्धान नगरी खोरमुक्त गरिएपछि बाँके प्रहरी र क्यासिनोबिचको सम्बन्धलाई रहस्यमय नजरले हेर्न थालिएको छ भने लुटिएको लाखौं रकम राज्यको ढुकुटीमा कसले जम्मा गर्ने विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ ।
२०८१ साउन ०९ गते नेपालगन्ज जमुनाहा क्षेत्रमा अनुसन्धान प्रहरी हवलदार अर्जुन खड्काले बरामद गरेको स्रोत नखुलेको लाखौं नगद रकम बरामद गरेपछि प्राप्त प्रमाण अनुसार ध्वनिखबर डटकम लगायत विभिन्न मिडियाले समाचार प्रशारण गर्दै आएको छ । स्रोत नखुलेको रकम गन्ती गर्दा कालो प्लाष्टिकमा रहेको रु. १८ लाख गन्ती गरिएको छ भने रातो झोलामा रहेको नगद गन्ती भने नगरिएको (तर बजारको चर्चा अनुसार रातो झोलामा रु. ५२ लाख भएको) भिडियो मिडियालाई उपलब्ध गराइन्छ ।


घटना घटेको मिति २०८१ साउन ०९ भएता पनि राष्ट्रिय अनुसन्धान कार्यालयका एसपी ओम खड्काले टेलिफोनमार्फत ध्वनिखबर डटकमसँग कुरा गर्दै सहयोग माग्दै घटनाको विषयमा एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनालले लाखौं नगद रकम लुटेको बताउँदै सम्पूर्ण बयान समेत दिन्छन् । साथै आफ्नो कर्मचारीले बरामद गरेको लाखौं नगद र कर्मचारीले मरणासन्न हुने गरी पिटाई खाएको विषयमा बाँके प्रहरीलाई कारवाहीको अनुरोध गर्छन् ।

यता उपचारमा रहेका घाइते प्रहरी हवलदार अर्जुन खड्काले भेरी अस्पतालबाट मिडियालाई घटनाको विवरण सुनाउँदै नेपालगन्ज कल्पतरु होटलमा संचालित एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनालले हातहतियारसहित करिब २० जनाको युवा लिएर लाखौं रकम लुटी आफुलाई घाइते बनाएको बयान समेत दिन्छन् ।

यसका साथै साउन १० गते राती करिब ८ बजे जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपी तथा प्रवक्ता एवम् सुचना अधिकारी नारायण डाँगीले जाहेरी दर्ता प्रक्रियामा रहेको र दर्ता भई सकेको जवाब समेत दिन्छन् ।

जिल्ला प्रहरी कार्यालय, बाँकेले घटना हुनै वित्तिकै क्यासिनोका जिएम अर्जुन खनाललाई साउन ९ गते हिरासतमा लिई जाहेरी नपरेको भनी साउन ११ गते खोरमुक्त गरिएकोले यस विषयमा अनुसन्धान गर्दै लुटिएको रु. ७० लाख राज्यको ढुकुटीमा आउनु पर्ने, लुटपाट तथा मिलेमतो गर्ने अधिकारीमाथी छानबिन र कारवाही हुनु पर्नेमा ध्वनिखबर डटकमले हेलो सरकार र राष्ट्रिय अनुसन्धान विभागमा इमेल मार्फत पत्राचार गर्छ । छानबिनमा ढिलाई भएको महसुस गरी गृह मन्त्रालय पुगी माननीय गृह मन्त्री रमेश लेखकलाई भेटी छानबिन र कारवाहीको माग समेत गरिन्छ । यसैगरी गृह मन्त्रीको आदेशानुसार गृह सचिवलाई भेटी घटनाको विवरण सुनाई छानबिन र कारवाहीको माग गर्नुका साथै अभियुक्त भनी हिरासतमा लिई अनुसन्धान नै नगरी क्यासिनो जिएम अर्जुन खनाललाई खोरमुक्त गरिएकोले जिल्ला प्रहरी कार्यालय बाँके कैफियतको घेरामा देखिएको आशंकामा लुटिएको रकम बाँके प्रहरीले बुझाउनु पर्ने वा दोषीले लाखौं रकम जम्मा गर्नु पर्नेमा जोड दिइन्छ ।

माननीय गृह मन्त्रीबाट गृह सचिव र गृह सचिवबाट नेपाल प्रहरी महानिरिक्षकलाई छानबिनको आदेश जारी तथा ध्वनिखबर डटकमले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी छानबिन र दोषी उपर कारवाहीको माग गर्दै निवेदन पश्चात अहिले आईजीपी सचिवालयबाट सुपरिवेक्षण युनिटलाई छानबिन गर्न पत्राचार समेत भएको छ । सुपरिवेक्षण युनिटले छानबिन कार्य कहिलेबाट शुरु गर्ने विषयमा कुनै जानकारी भने प्राप्त भएको छैन । गृह मन्त्री र गृह सचिवले छानबिन गर्ने आदेश दिंदा, छानबिन शुरु नहुनु र छानबिन गर्दा प्रमाण नष्ट तथा दबाव सृजना हुन सक्ने भएकोले कैफियतमा देखिएका अधिकारीलाई भने निलम्बन समेत नगरिएकोले उक्त घटना ढाकछोप गर्न माथिबाट नै सेटिंग भएको स्थानिय जनताले आशंका व्यक्त गरेका छन् ।

नेपालगन्ज जमुनाहामा भएको हातहतियारसहित लाखौं रकमको लुटपाट हुँदा जिल्ला प्रहरी कार्यालय, बाँकेले अभियुक्त मानिएको एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाललाई साउन ०९ र १० गते हिरासतमा लिई साउन ११ गते कुनै अनुसन्धान नगरी ससम्मान खोरमुक्त गरिएकोले बाँके प्रहरीका एसपी तुलबहादुर कार्की, डिएसपी एवम् सुचना अधिकारी नारयण डाँगी र एसएन ब्लु क्यासिनोका जिएम अर्जुन खनालबीच त्रिकोणीय रहस्यमय गहिरो सम्बन्ध रहेको नेपालगन्ज नगरमा व्यापक चर्चा चलेको छ । स्थानिय जनता भन्छन्–‘हातहतियारसहित लाखौं नगद लुट्ने कार्यमा संलग्न एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाल लगायत करिब २० जना, मिलेमतो गरी जाहेरी दर्ता नगर्ने अनुसन्धान प्रहरी हवलदार अर्जुन खडका र अभियुक्तलाई अनुसन्धान नगरी खोर मुक्त गर्ने आदेश दिने जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुल बहादुर कार्की एवम् डिएसपी नारायण डाँगीमाथि छानबिन हुन आवश्यक छ ।’