बाँकेमा आचारसंहिताको धज्जी (पैसा वितरण र सट्टा बाजी) उड्यो : अप्रिय घटनाको संकेत (भिडियो सहित)

बाँकेमा आचारसंहिताको धज्जी (पैसा वितरण र सट्टा बाजी) उड्यो : अप्रिय घटनाको संकेत (भिडियो सहित)

नेपालगन्ज, १९ कात्तिक । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा सदस्य अर्थात सांसद पदको निर्वाचनमा बाँके क्षेत्र नं. २ मा मुख्यत राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीद्वारा निर्वाचन आयोगको आचारसंहिताको धज्जी उडाउँदै प्रचारप्रसारलाई तीब्र पारिएको छ भने प्राय सबै सभामा एकले अर्कोलाई आरोप प्रत्यारोपको राजनीति शुरु भएको छ । यसैगरी विभिन्न कोणसभाको तल्लो स्तरको भाषा समेत प्रयोग भएको पाइएको छ ।
पुर्व मन्त्री एवम् बाँके क्षेत्र नं. २ का सांसद उम्मेदवार मो. इस्तियाक राईले अकुत सम्पत्ति कमाएकोमा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी (पप्पु) ले सम्पत्ति छानबिन हुनु पर्ने दिएको अभिव्यक्तिमा अहिले पुर्व मन्त्री राईले एक सभामा चौधरीको विभिन्न बाउको संज्ञा दिई तल्लो स्तरको राजनीति गरेको अधिकांश मतदाताले बताउन थालेका छन् । पुर्व मन्त्री राईले डुडुवा गाउँपालिका अध्यक्ष पप्पुको नाम नै किटान गरी प्रधानमन्त्री र मन्त्रीलाई ‘बाउ’ को संज्ञा दिई तल्लो स्तरको राजनीति शुरु गरेको बताइएको छ ।

(सट्टा बाजी र डुडुवा गाउँपालिका अध्यक्षमाथि पुर्व मन्त्री राईको कडा आरोप)


यसैगरी निर्वाचन आयोगको आचारसंहिताको धज्जी उडाउँदै बाँके क्षेत्र २ मा राप्रपाका सांसद उम्मेदवार डा. धवल सम्शेर राणाले पैसा वितरण गर्नुको साथै आफ्नै कार्यकर्ताबाट गैर कानुनी रुपमा सट्टा बाजीको व्यापार शुरु गर्न लगाइएको बताइएको छ । स्थानिय त्रिभुवन चोक बजारमा राप्रपाका स्थानिय नेता चाँद बाबु हलुवाईले खुलेआम १ को ५ को दरमा सट्टा बाजी लगाएको भेटिएको छ । यसैगरी सामाजिक संजालको कमेन्टमा रबिना शाही र राज पालले सट्टा बाजीको लागि आह्वान समेत गरेको पाइएको छ ।
बाँके क्षेत्र नं. २ मा नेपाली काँग्रेस, राप्रपा र जसपाको त्रिकोणीय प्रतिस्पर्धा रहेको बुझिएको छ भने उम्मेदवारहरुले एकले अर्कोमाथि तल्लो स्तरको घटिया राजनीति गरेको अधिकांशको भनाई छ ।
विभिन्न कोण सभामा एकले अर्कोमाथि आरोप लगाउनेदेखि आचारसंहिताको धज्जी उडाउँदा निर्वाचन आयोग मौन भएको कारण अहिले तल्लो स्तरको राजनीति शुरु भएको अधिकांशको भनाई रहेको छ । तल्लो स्तरको राजनीति भएको कारण भोलि अप्रिय घटना हुन सक्ने संकेत पनि आईरहेको स्थानिय बुद्धिजीविको भनाई पाइएको छ ।