प्रधानमन्त्री ओलीले वाचा पुरा गरे : शुक्रबार दुई सेट नेपाली रेल आउँदै

प्रधानमन्त्री ओलीले वाचा पुरा गरे : शुक्रबार दुई सेट नेपाली रेल आउँदै

काठमाडौं, १ असोज । केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद सम्हाल्दै गरेका वाचा मध्ये नेपाली रेल भोलि अर्थात शुक्रबार नेपाली भूमिमा आउने भएको छ । प्रधानमन्त्रीको वाचालाई केही समूहहरुको कटु आलोचनाको रुपमा सामाजिक संजालमा टिकाटिप्पणी गरेसँगै अब त्यस्ता टिकाटिप्पणीहरु पूर्ण रुपमा बिश्राम हुने विज्ञहरुको भनाई रहेको छ ।
नेपालको रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई थान सेट शुक्रबार नेपाल आइपुग्ने छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई रेल जयनगर जनकपुरका लागि प्रस्थान भई शुक्रबारसम्म नेपाली भूमिमा आउने बताइएको छ । रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि बिहीबार नै हिँडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । ‘रेलको दुवै सेट शुक्रबार जनकपुर आइपुग्ने सम्भावना छ,’ उनले महानिर्देशक बलराम मिश्रले ध्वनिखबरसँग भने, ‘जनकपुरका लागि रेल हिँडिसकेको छ । भारतभित्र छ । शुक्रबार अपरान्हसम्म जनकपुर आइपुग्छ ।’

नेपाली रेल


गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको दुई सेट रेल नेपाल आउने निश्चित भइसकेको भन्दै विभागका महानिर्देशक मिश्रले भने,‘शुक्रबार रेलको सेट बुझ्ने मात्र हो । भारतबाट कोंकण रेलवेजको टिम पनि रेलसँगै आउँदै छन् । रेलको कोच (बोगी) बनाउने इन्टेरियल कोच फ्याक्ट्रीका प्राविधिक टिमले नै रेल गुडाएर ल्याउँदै छन् ।’
शुक्रबार आउँदै गरेको दुई सेट रेलको रुट :
एक महिनाभित्रै नियमित सेवा थालिने उक्त रेलबाट जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ । कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम जारी छ । बिजलपुरादेखि पूर्व–पश्चिम राजमार्ग छुन्ने बर्दिवाससम्मको १७ किमिमा भने जग्गा अधिग्रहण र मुआब्जाको झमेलाले निर्माण प्रक्रिया लम्बिएको छ ।